सिन्धुपाल्चोक–फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ। उम्मेदवारहरू कोणसभा र मतदाता भेटघाटमा व्यस्त देखिएका छन्।
यस क्षेत्रमा १८ जनाले उम्मेदवारी दिएका छन्। प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेसका जंगबहादुर लामा, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, नेकपा एमालेका सरेश नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीबीच हुने अनुमान गरिएको छ।


चुनावी माहोल बढ्दै जाँदा कांग्रेस उम्मेदवार लामाले सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गरेका छन्। उनले आफ्नो चुनाव चिह्न ‘रुख’को तस्वीरसहित फेसबुकमा लेखेका छन्, “सिन्धुपाल्चोक अब प्रतीक्षा होइन, निर्णयको चरणमा छ। विकास, इमानदारी र अडिग नेतृत्वको समय आएको छ।”
उनको उक्त स्टाटसलाई आफूलाई विजयी दाबी गर्दै अब मतदाताले निर्णय गर्न मात्रै बाँकी रहेको संकेतका रूपमा विश्लेषण गरिएको छ। साथै, आफू सक्षम र दृढ नेतृत्व भएको सन्देश दिन खोजिएको देखिन्छ।







