सिन्धुपाल्चोक- प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नं. १ को चुनावी प्रतिस्पर्धा निकै रोचक र पेचिलो बनेको छ। दशकौँदेखि एमाले, कांग्रेस र माओवादीको गढ मानिएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत प्रसाद पराजुलीको बढ्दो सक्रियताले पुराना शक्तिहरूलाई रक्षात्मक अवस्थामा पुर्याइदिएको छ।
विशेषगरी सत्ता र शक्तिको अनुभव बटुलेका स्थापित अनुहारहरूलाई विस्थापित गर्दै नयाँ एजेण्डाका साथ पराजुली मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावी अंकगणित उल्टिने संकेत देखिएको हो।यस क्षेत्रमा नेकपाका निवर्तमान सांसद माधव सापकोटा ‘सुबोध’, नेपाली कांग्रेसका जिल्ला सभापति जंग बहादुर लामा र नेकपा एमालेका पुराना नेता सरेश नेपाल मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। तर, यी तीनै जना उम्मेदवारका विरुद्ध मतदातामा साझा गुनासो छ— “वर्षौँसम्म शक्तिमा रहँदा पनि जिल्लाको अवस्था उस्तै रहनु।”


स्थापित दलका नेताहरू एकअर्कालाई खुइल्याउन व्यस्त रहँदा, रास्वपाका भरत प्रसाद पराजुली भने ‘परिवर्तन र डेलिभरी’ को एजेण्डासहित जनताको घरदैलोमा पुगेका छन्।
पराजुलीको पक्षमा देखिएको लहरका मुख्य तीन कारणहरू यस्ता छन्:
विकासको स्पष्ट मोडेल: इन्जिनियरिङ र व्यवस्थापकीय पृष्ठभूमि भएका पराजुलीले सिन्धुपाल्चोकको बाढी पहिरो नियन्त्रण र पर्यटन विकासका लागि प्राविधिक रूपमा सम्भव योजनाहरू अघि सारेका छन्, जसलाई युवा पुस्ताले विश्वास गरेको छ।
मौन मतदाताको साथ: कांग्रेस, एमाले र माओवादीभित्रै रहेका तर नेतृत्वप्रति असन्तुष्ट ठुलो संख्याका कार्यकर्ताहरू यसपटक ‘घण्टी’ मा मतदान गर्न उत्साहित देखिएका छन्।
सुशासनको मुद्दा: भ्रष्टाचार विरुद्धको स्पष्ट अडान र सांसद विकास कोषको सही सदुपयोग गर्ने पराजुलीको प्रतिबद्धताले उनलाई अन्य उम्मेदवार भन्दा अलग देखाएको छ।
पछिल्लो समय सिन्धुपाल्चोक १ नं. क्षेत्रमा आयोजित सभाहरूमा पराजुलीको पक्षमा देखिएको जनसहभागिताले ‘हेभीवेट’ भनिएका उम्मेदवारहरूलाई झस्काएको छ। स्थानीय मतदाता भन्छन्, “हामीले धेरैलाई हेर्यौँ, अब एकपटक नयाँ र पढेलेखेको मान्छेलाई अवसर दिनुपर्छ भन्ने सोच गाउँ-गाउँमा पुगेको छ।”
सत्ता र संगठनको बलमा चुनाव जित्ने दाउमा रहेका सापकोटा, लामा र नेपालका लागि भरत पराजुली ‘फलामको चिउरा’ बन्ने निश्चित देखिएको छ। मतदाताले यसपटक दलभन्दा माथि उठेर ‘पात्र’ र ‘एजेण्डा’ हेर्ने मुड बनाएकाले सिन्धुपाल्चोक १ मा यसपटक ऐतिहासिक उलटफेर हुने सम्भावना प्रवल छ।







