सिन्धुपाल्चोक – नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सिन्धुपाल्चोक जिल्ला सभापति जंगबहादुर लामाले उत्साहजनक जनसहभागिताका बीच प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। बीपी कोइरालाको लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै राजनीतिक यात्रामा होमिएका लामाले आज बिहान घरमा माताको आशीर्वाद ग्रहण गरी चुनावी अभियानको औपचारिक सुरुवात गरेका हुन्।
उम्मेदवारी दर्ता पूर्व सदरमुकाम चौतारास्थित पार्टी कार्यालयको प्राङ्गणमा पुगेर लामाले जननायक बीपी कोइरालाको पदचाप पछ्याउँदै सिन्धुपाल्चोक कांग्रेसका पूर्व पार्टी सभापति स्वर्गीय रोहिणीराज सिग्देल र विकास लामाको शालिकमा माल्यार्पण गरेका थिए। आफ्ना राजनीतिक गुरु र अग्रजहरूप्रति सम्मान प्रकट गर्दै उनले जिल्लाको विकास र पार्टीको गरिमालाई उच्च राख्ने संकल्प दोहोर्याए।


नेपाली कांग्रेसको संगठनभित्रैबाट खारिएका लामा इकाइ सभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि हुँदै हाल जिल्ला सभापतिको जिम्मेवारीमा छन्। कांग्रेस वृत्तमा उनलाई एक कुशल र जुझारु संगठनकर्ताका रूपमा हेरिन्छ। लामो समयदेखि तल्लो तहका कार्यकर्तासँग जोडिएर काम गरेका कारण पनि उनको उम्मेदवारीलाई जिल्लाभर चासोका साथ हेरिएको छ।
नेता-कार्यकर्ताको भव्य र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका लामाले मनोनयन दर्ता पश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै वर्तमान अवस्थामा संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरण नै मुख्य चुनौती रहेको बताए। “आम नागरिकमा ठूलो उत्साह छ,” लामाले भने, “संविधान जोगाउन र लोकतन्त्रको वास्तविक फल जनतासम्म पुर्याउन नेपाली कांग्रेसलाई मतदान गर्न मतदाताहरू आतुर हुनुहुन्छ।”
पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमले सिन्धुपाल्चोक क्षेत्र नं. १ मा कांग्रेसको बलियो पकड रहेको सन्देश दिएको छ।







