सिन्धुपाल्चोक -नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति जंग बहादुर लामाले आगामी निर्वाचनमार्फत नेपाली कांग्रेस मुलुकको पहिलो राजनीतिक शक्तिको रूपमा उदय हुने दृढ विश्वास व्यक्त गर्नुभएको छ। वर्तमान राजनीतिक परिस्थितिको गहिरो विश्लेषण गर्दै सभापति लामाले अबको नेतृत्वले जनताको भावनालाई प्रत्यक्ष सम्बोधन गर्ने र नेपाली कांग्रेसले जनमतमार्फत पुनः देशको बागडोर सम्हाल्ने दाबी गर्नुभयो।


विगतका राजनीतिक उतारचढावबाट पाठ सिक्दै कांग्रेसले आफूलाई थप परिष्कृत बनाएको चर्चा गर्दै लामाले भन्नुभयो- “अबको कांग्रेस केवल इतिहासको विरासतमा मात्रै बाँच्दैन, बरु नयाँ नेतृत्वको जोस, स्पष्ट भिजन र जनतासँगको प्रत्यक्ष जोडानले गर्दा आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने निश्चित छ।” उहाँले जनताले कांग्रेसलाई विकास र स्थिरताको संवाहकका रूपमा हेरिरहेको उल्लेख गर्दै आगामी निर्वाचन परिणामले कांग्रेसको लोकप्रियतालाई थप उचाइमा पुर्याउने बताउनुभयो।
सिन्धुपाल्चोकको सन्दर्भमा बोल्दै सभापति लामाले जिल्लाभर कांग्रेसको संगठन अत्यन्तै सुदृढ र जुझारु बनेको जिकिर गर्नुभयो। उहाँले टोल-टोलमा बढेको नयाँ नेतृत्व प्रतिको बिश्वास र कार्यकर्ताको सक्रियताले विपक्षी दलहरूलाई कडा चुनौती दिने बताउँदै भन्नुभयो- “हामी अब कुनै पनि बहानामा पछि हट्दैनौँ, जनताको सुख-दुःखमा सँगै छौँ र निर्वाचनमार्फत सिन्धुपाल्चोक लगायत देशभर कांग्रेसको झण्डा फहराउनेछौँ।” सभापति लामाले पार्टीभित्रको आन्तरिक एकता र जनताको अपार विश्वास नै विजयको मुख्य आधार हुनेमा जोड दिँदै सम्पूर्ण कार्यकर्तालाई उच्च मनोबलका साथ चुनावी तयारीमा लाग्न आह्वान समेत गर्नुभएको छ।







