सिन्धुपाल्चोक-नेपाली कांग्रेसभित्रको आन्तरिक शुद्धीकरण र रूपान्तरणको बहसले नयाँ उचाइ लिएसँगै सिन्धुपाल्चोक कांग्रेसको ठूलो टोली राजधानी आइपुगेको छ। जिल्ला सभापति जङ्गबहादुर लामाको नेतृत्वमा बहुमत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्दै काठमाडौँ ओर्लिएपछि राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीको नीति र नेतृत्वमा समयसापेक्ष परिवर्तन हुनुपर्ने एजेन्डा बोकेर सिन्धुपाल्चोकका प्रतिनिधिहरू एकढिक्का भई केन्द्रमा दबाब बढाउन सक्रिय देखिएका हुन्।


भोलि र पर्सि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी हुन देशैभरबाट प्रतिनिधिहरू आउने क्रम जारी रहँदा सिन्धु कांग्रेसको यो बलियो उपस्थिति विशेष चर्चाको विषय बनेको छ। सभापति लामाले बहुमत प्रतिनिधिको हस्ताक्षरसहित परिवर्तनको पक्षमा उभिएर संस्थापन पक्षलाई ठूलो चुनौती दिएका छन्। पार्टीभित्र देखिएको जडता तोड्न र कार्यकर्तामा नयाँ ऊर्जा भर्नका लागि यो विशेष महाधिवेशन कोशेढुङ्गा सावित हुने विश्वास प्रतिनिधिहरूले व्यक्त गरेका छन्।
परिवर्तनका पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको यो महाधिवेशनले कांग्रेसलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। सिन्धुपाल्चोकबाट आएको यो बहुमतको सन्देशले पार्टीको केन्द्रीय समीकरणमा समेत हलचल पैदा गरिदिएको छ। जिल्ला नेतृत्व नै हस्ताक्षरसहित मैदानमा उत्रिएपछि संस्थापन पक्ष रक्षात्मक बनेको छ भने परिवर्तन चाहने कार्यकर्तामा उत्साह थपिएको छ। दुई दिनसम्म चल्ने यो बहस र मन्थनले नेपाली कांग्रेसलाई आगामी निर्वाचनअघि नै वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने दाबी गरिएको छ।







