सिन्धुपाल्चोक -नेपाली कांग्रेसमा नीति र नेतृत्व परिवर्तनको एजेन्डासहित आयोजना हुन लागेको केन्द्रीय विशेष महाधिवेशनमा भाग लिन सिन्धुपाल्चोकका नेता तथा कार्यकर्ताहरू ठुलो सङ्ख्यामा काठमाडौँ ओर्लिएका छन्। पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन र नेतृत्वमा आमूल परिवर्तन ल्याउन निर्णायक भूमिका खेल्ने अठोटका साथ सिन्धुपाल्चोकका विभिन्न क्षेत्रबाट राजधानी आउनेहरूको लर्को लागेको हो। यो उपस्थितिलाई सिन्धु कांग्रेसले पार्टी रूपान्तरणका लागि आफ्नो बलियो ऐक्यबद्धताका रूपमा अर्थ्याएको छ।


पार्टीभित्र लामो समयदेखि बहसको विषय बनेको विशेष महाधिवेशनमा आफ्नो मत र विचारमार्फत परिवर्तन सुनिश्चित गर्न कार्यकर्ताहरू उत्साहित देखिएका छन्। ‘परिवर्तनको पक्षमा सिन्धु कांग्रेस’ भन्ने नाराका साथ काठमाडौँ आइपुगेका प्रतिनिधिहरूले अबको महाधिवेशन केवल प्रक्रिया मात्र नभई कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने प्रस्थानविन्दु हुने बताएका छन्। काठमाडौँका विभिन्न स्थानमा सिन्धुपाल्चोकबाट आएका कांग्रेसीहरूको बाक्लो उपस्थिति र चहलपहलले विशेष महाधिवेशनको रौनकलाई थप बढाएको छ।
केन्द्रीय विशेष महाधिवेशनमा सहभागी हुन आएका अगुवा कार्यकर्ताहरूले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र नेतृत्वमा नयाँ ऊर्जा भर्न आफूहरूले निर्णायक मतदान गर्ने बताएका छन्। सिन्धुपाल्चोकका गाउँ-गाउँ र टोल-टोलबाट आएका कार्यकर्ताहरूको यो अभूतपूर्व सहभागिताले पार्टीभित्र परिवर्तनको लहर कति गहिरो छ भन्ने प्रस्ट पारेको छ। महाधिवेशनमा भाग लिन आएको यो समूहले पार्टीको आगामी कार्यदिशा तय गर्न र नेतृत्वलाई जवाफदेही बनाउन आफ्नो उपस्थिति सशक्त हुने उद्घोष गरेको छ।







