काभ्रे -राजनीति भाषण र वाचासम्म सीमित हुन थालेको यो समयमा कामले बोलेको नेतृत्व खोजी भइरहेका बेला काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ मा युवा नेता दिपक चौलागाईंको उम्मेदवारीले फरक बहस सुरु गराएको छ। नेकपा एमाले काभ्रे क्षेत्र नं. १ बाट कोशिपारी क्षेत्रका एकमात्र युवा उम्मेदवारका रूपमा उहाँको नाम सिफारिस भएपछि स्थानीय राजनीतिक वातावरण मात्र होइन, जनअपेक्षाको केन्द्रसमेत उहाँतर्फ मोडिएको छ।
संघर्ष, चेतना र राजनीतिक यात्राको सुरुवात
चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीमा हुर्किनुभएका चौलागाईंले ग्रामीण जीवनका चुनौती, अभाव र सम्भावनालाई नजिकबाट बुझेका छन्। यही जीवन भोगाइले उहाँलाई २०६० सालदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय बनायो। उहाँ नारा होइन, परिणाम खोज्ने नेतृत्वका रूपमा परिचित हुनुहुन्छ।


सामाजिक सेवामा देखिएको प्रत्यक्ष योगदान
चौलागाईंको राजनीतिक पहिचान केवल संगठनभित्र सीमित छैन। कोशिपारी क्षेत्रका नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सामाजिक काम उहाँको यात्राको महत्वपूर्ण आधार हो। उहाँको पहल र सहकार्यमा कोशिपारी क्षेत्रमा एम्बुलेन्स हस्तान्तरण, जसले दुर्गम बस्तीका बिरामीलाई समयमै उपचार पहुँचमा पुर्याउन सहयोग गरेको छ, मन्दिर निर्माण, जसले धार्मिक–सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई मजबुत बनाएको छ, डिप बोरिङ जडान गरी खानेपानी अभाव न्यूनीकरण गर्ने प्रयास,
खानेपानी लिफ्टिङ प्रणाली, जसले उचाइमा रहेका बस्तीहरूमा स्वच्छ पानीको पहुँच विस्तार गरेको छ,
जस्ता दर्जनौँ सामाजिक तथा पूर्वाधारसम्बन्धी कामहरू सम्पन्न भएका छन्। यी कार्यहरूले चौलागाईंलाई कागजी होइन, व्यवहारिक समाजसेवी नेताका रूपमा स्थापित गरेको स्थानीयको बुझाइ छ।
संगठन निर्माण र युवाको आवाज
राजनीतिक रूपमा उहाँ रिटर्नी फेडेरेसन नेपाल, काभ्रेका पूर्व अध्यक्ष रहँदै वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, पूँजी र अनुभवलाई राष्ट्र निर्माणसँग जोड्ने अभियानमा सक्रिय रहनुभयो। हाल उहाँ संघको केन्द्रिय सदस्यका रूपमा पनि जिम्मेवारीमा रहनुभएको छ।
युवालाई संगठित गर्ने, नेतृत्व विकास गर्ने र अवसर सिर्जना गर्ने उहाँको भूमिकालाई पार्टीभित्र मात्र होइन, समाजले पनि सकारात्मक रूपमा लिएको देखिन्छ।
अन्तर्राष्ट्रिय अनुभव, आत्मनिर्भर सोच
करिब एक दशक विभिन्न क्षेत्रको अनुभव बटुल्नुभएका चौलागाईं हाल व्यवसायिक रूपमा चीनसँग समेत संलग्न रहनुभएको छ। यही अनुभवका कारण उहाँ उत्पादन, उद्यमशीलता, निर्यात र रोजगारी सिर्जनालाई राजनीतिक प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुहुन्छ। “देशको विकास भाषणले होइन, उत्पादन र रोजगारीले हुन्छ,” उहाँको स्पष्ट भनाइ छ।
युवामैत्री एजेन्डा र समावेशी दृष्टिकोण
उम्मेदवारीको औचित्यबारे चौलागाईंले लोकतन्त्रको रक्षा, समानुपातिक समावेशिता, युवाको उत्पादन र रोजगारीमा सक्रिय सहभागिता, तथा जेन्जी पुस्तालाई नीति निर्माणको केन्द्रमा ल्याउने दृष्टिकोणलाई प्रमुख एजेन्डा बनाउनुभएको छ। अनुभवी नेतृत्वको मार्गदर्शन र युवाको ऊर्जाको संयोजनबाट मात्रै देशले गति लिने उहाँको विश्वास छ।
काभ्रे–१ मा बदलिँदो राजनीतिक संकेत
लामो समयदेखि परम्परागत नेतृत्वको प्रभावमा रहेको काभ्रे–१ मा चौलागाईंको उदयलाई पुस्तान्तरणको संकेतका रूपमा हेरिएको छ। कोशिपारीबाट उठेको यो युवा उम्मेदवारीले स्थानीय मतदातामाझ आशा, भरोसा र नयाँ विकल्पको बहस जन्माएको छ।
कामले प्रमाणित नेतृत्व
“जनतासँग चुनावमा मात्र होइन, समस्या पर्दा सधैँ साथ हुनुपर्छ,” चौलागाईं भन्छन्। एम्बुलेन्सदेखि खानेपानीसम्म, मन्दिरदेखि सामाजिक अभियानसम्मका कामहरूले उहाँको यो भनाइलाई व्यवहारमै पुष्टि गरेको देखिन्छ।कोशिपारीबाट उठेको यो युवा आवाज काभ्रे–१ को राजनीतिमा कति ठूलो परिवर्तन ल्याउनेछ, त्यो समयले देखाउनेछ। तर, चौलागाईंको उम्मेदवारीले भने एउटा स्पष्ट सन्देश दिएको छ—अब काभ्रे–१ मा राजनीति कुरा होइन, कामको मूल्याङ्कनबाट अघि बढ्नुपर्छ।







