काठमान्डौं-विवादको साटो मेलमिलापको बाटो न्यायीक तथा कानुनी साक्षरता सम्बन्धी कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । न्यायीक समिति मेलम्ची नगरपालिकाको आयोजना भएको २ दिने तालिमलाई समापन गर्दै नगरपालिकाका उपप्रमुख उमा प्रधानले हिजोका विवाद र आजको विवाद फरक फरक हुने भएकाले यस्ता तालिम अपरिहार्य भएको बताउनुभयो ।
मानिसका मानसिक पिडाहरुलाई मलमपट्टी लगाउने काम मेलमिलाप कर्ताहरुले गर्ने भएकाले सरकारले स्थापित गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले समाजलाई शान्त र सरल बनाउन मेलमिलाप कर्ताहरुको भुमिका अहम हुने बताउनुभयो । दुवैजनाको जित जित हुनेगरी विवाद मिलाउने गर्नाले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले अझै राम्रो काम गर्न समेत सुझाव दिनुभयो ।
सहभागी मेलम्ची २ का कुमार चौलागाईंले तालिम उपलब्धी र जानकारी मुलक भएको बताउनुभयो । उहाँले कानुनी साक्षरता,नियम,कानुनका ब्यबस्था लगायतका बिषयमा मसिनो ढंगले छलफल गर्नपाएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस्तै सहभागी मेलम्ची ११ का सानुमैया पण्डितले संविधान,कानुन,मुद्दा ,मुद्दाका प्रकार लगायतका बारेमा उपलब्धी मुलक छलफल भएको बताउनुभयो । संविधानका धारा,उपधारा,दफा,अनुसूची लगायतका बारेमा जानकारी पाइएको बताउनुभयो । कार्यक्रममा प्रत्यक वडा बाट न्यायीक सम्पर्क ब्यक्ति र मेलमिलाप संयोजक गरि २६ जनाको उपस्थिति रहेको नगरपालिकाका न्यायीक सहजकर्ता अस्मिता अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा अधिवक्ता उद्घबप्रसाद अधिकारी र रामबाबु नेपाल द्वारा लिखित ` न्यायीक समितिको सारथी´ नामक किताब समेत सहभागीलाई वितरण गरिएको थियो ।









