सिन्धुपाल्चोक-मेलम्ची नगरपालिकाले नगरभित्रका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ छात्रवृत्ति कोषको व्यवस्था गरेको नगरप्रमुख श्री आइतमान तामाङले बताउनुभएको छ।
वडा नं. ६ स्थित तेर्से माध्यमिक विद्यालयका विद्यार्थीहरूले नगरपालिकाको संरचना तथा कार्यक्रमबारे जानकारी लिन आयोजना गरिएको अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले शिक्षा नै समुन्नत समाजको आधार भएको उल्लेख गर्दै नगरपालिकाले सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउन निरन्तर प्रयासरत रहेको बताउनुभयो।उहाँले लक्ष्य स्पष्ट बनाएर इमान्दारिताका साथ मेहनत गरेमा सफलता अवश्य प्राप्त हुने विश्वास व्यक्त गर्नुहुँदै विद्यार्थीहरूलाई वर्तमान समयको सदुपयोग गर्दै आत्मविश्वास र सकारात्मक सोचका साथ आफ्नो भविष्य निर्माणमा लाग्न आग्रह दिनुभयो।
कार्यक्रममा नगर उपप्रमुख उमा प्रधानले न्यायिक समिति, अनुगमन समिति तथा सामाजिक सुरक्षा सम्बन्धी व्यवस्थाबारे जानकारी गराउनुभयो। उहाँले स्थानीय सरकारले नागरिकको हकहित संरक्षणमा खेल्ने भूमिकाबारे पनि स्पष्ट पार्नुभयो।
त्यसैगरी, नगरपालिकाका प्रशासकीय प्रमुख झपेन्द्रराज खरेलले नगरपालिकाको संगठनात्मक संरचना तथा विषयगत शाखाहरूको कार्यक्षेत्रबारे जानकारी दिनुभयो भने न्यायिक सहजकर्ता अस्मिता अर्यालले न्यायिक समितिको भूमिका, कर्तव्य र स्थानीय तहमा विवाद समाधानका प्रक्रियाबारे विद्यार्थीहरूलाई अवगत गराउनुभयो।
अन्तरक्रियात्मक कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्थानीय सरकारको कार्यप्रणाली, सेवा प्रवाह र जिम्मेवारीबारे प्रत्यक्ष रूपमा बुझ्न पाएको भन्दै खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नागरिक चेतना बढाउनुका साथै जिम्मेवार र सचेत नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास ब्यक्त गरेका थियो।









