काठमाडौं-नेपालले पहिलोपटक विश्व बक्सिङ्ग काउन्सिल (WBC) को वार्षिक सम्मेलनमा औपचारिक रूपमा प्रतिनिधित्व गरेको छ। थाइल्यान्डको बैंककमा नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म चल्ने ६३ औँ विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ।
यस सम्मेलनमा नेपालतर्फबाट नेपाल प्रोफेसनल बक्सिङ्ग कमिसनका अध्यक्ष राजन प्रजापति र पश्चिम नवलपरासी (परासी)का राष्ट्रिय रेफ्री दिपेश शर्मा गरी दुई सदस्यीय अफिसियल टोली सहभागी भएको हो।

विश्वभरिका झण्डै १५० देशका प्रोमोटर, च्याम्पियन, प्रशिक्षक, रेफ्री तथा अफिसियलहरूको उपस्थितिमा जारी सम्मेलन महत्वपूर्ण एजेन्डाहरूमा केन्द्रित छ। थुप्रै राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट रेफ्रीको पहिचान बनाइसकेका दिपेश शर्माको अनुभवले नेपालका तर्फबाट हुने प्रस्तुति प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा सहभागी राष्ट्रिय रेफ्री दिपेश शर्माले अन्तर्राष्ट्रिय मंचमा नेपालको उपस्थिति राष्ट्रकै गौरवको विषय भएको बताउँदै, यस्तो विश्वस्तरीय कार्यक्रममा नेपालले देखाएको सहभागिताले प्रोफेसनल बक्सिङ्गको विकास र अन्तर्राष्ट्रिय पहिचान मजबुत बन्ने विश्वास व्यक्त गरे।
यस्तै, नवलपरासी बक्सिङ्ग एसोसिएसनका अध्यक्ष तथा प्रदेश वरिष्ठ उपाध्यक्ष टेकबहादुर पुनले नेपालले पहिलोपटक गरेको यो औपचारिक सहभागिताले आगामी दिनमा देशमा बक्सिङ्ग खेललाई अझ व्यवसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने धारणा राखेका छन्।
नेपालको यो ऐतिहासिक उपस्थिति प्रोफेसनल बक्सिङ्गमा नयाँ आयाम थप्ने र नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डमा उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।







