सिन्धुपाल्चोक-मेलम्ची नगरपालिका–९, गुफाडाँडास्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाको समन्वय र लाइन्स क्लब अफ काठमाडौं शाखाको सहयोगमा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत १०४ जना विद्यार्थीलाई ट्र्याक सुट र विद्यालय सेवा क्षेत्रमा बसोबास गर्ने एकल तथा ज्येष्ठ महिलाहरूलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा District 1st VDG Lions श्री रत्न पराजुलीले भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा रहेको विद्यालय र समुदायलाई सहयोग पुर्याउनु सबैको साझा जिम्मेवारी भएको बताउँदै, यस्तो सहयोगले विद्यार्थी मात्र होइन, अभिभावक र स्थानीयबासीमा ऊर्जा, आत्मविश्वास र सकारात्मक परिवर्तनको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि निरन्तर यस्ता सामाजिक कार्यमा साथ रहने प्रतिबद्धता जनाउनुभयो।


LCK Acme Team President श्री अञ्जु शर्माको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि वडा अध्यक्ष श्री किरणदिप खड्काले यस किसिमका कार्यक्रमहरूले विद्यालय विकास तथा समुदाय सशक्तीकरणमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्नुभयो। उहाँले यस्ता पहललाई निरन्तरता दिन आग्रह गर्दै विद्यालयको प्रगतिमा सबै पक्षको साथ आवश्यक भएको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर तामाङका अनुसार पहाडी भौगोलिक विकटता र आर्थिक अभावका कारण विद्यार्थी तथा अभिभावकहरू आवश्यक सामग्रीबाट वञ्चित हुँदै आएका थिए। यस पटक उपलब्ध गराइएको ट्र्याक सुट र न्यानो कपडाले विद्यार्थीहरूको मनोबल बढेको र विद्यालयप्रतिको आकर्षण थपिएको बताउनुभयो।
यसैक्रममा, नव आशा गृह क्लिनिक प्रा. लि. ले विद्यालयका लागि आवश्यक स्वास्थ्य सामग्री तथा भाँडाकुँडा प्रदान गरी कार्यक्रमलाई अझ प्रभावकारी बनायो। यस योगदानले विद्यालयमा स्वच्छता, सुरक्षा र स्वास्थ्य सेवाको प्रवर्द्धनमा ठोस सहयोेग गर्ने विश्वास अध्यक्ष तामाङले व्यक्त गर्नु भयो ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू अत्यन्तै उत्साहित देखिन्थे। सहप्राध्यापक लालबहादुर डाँकीले सहयोगी संस्था तथा व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। सामाजिक भावना, सद्भाव र जिम्मेवारीको उत्कृष्ट उदाहरण बनेको यस कार्यक्रमले गुफाडाँडाका बालबालिका तथा स्थानीय समुदायमा नयाँ आशा, ऊर्जा र उत्साह थपिदिएको सहप्राध्यापक डाँकीले बताउनु भयो।







