सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे मानेडाँडा स्थित श्री गोल्मेश्वरी आधारभूत विद्यालयमा आज सिकाइ उपलब्धि वृद्वि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रम सोही विद्यालय र छिमेकी श्री क्यौलेठाना आधारभूत विद्यालयका विव्यस प्रतिनिधि र शिक्षक कर्मचारीको सहभागितामा सञ्चालन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत विज्ञ योगबहादुर थापाले शिक्षण सिकाइ प्रक्रियामा सुधार गरी प्रभावकारी बनाउन सकेमात्र उपलब्धि वृद्वि हुने बताउनुभयो ।
उहाँले यसका लागि शिक्षकहरुले आफू समय सापेक्ष रूपान्तरण भइ प्रतिवद्वता र जिम्मेवारीलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । ‘ शिक्षकमा क्षमता, उत्तरदायित्व र पेशाप्रति लगावको प्रधानता आवश्यक छ ।’ – स्रोत विज्ञ थापाले भन्नुभयो ।



अन्तरक्रियामा विषयगत र तहगत सिकाइ उपलब्धि, यसका चुनौतीहरु, सुधारका लागि गर्नुपर्ने उपाय एवम् प्रयासहरु बारे छलफल गर्नुका साथै योजनावद्व कक्षा शिक्षण , शिक्षण सुधार योजना, शैक्षिक सामग्रीको निर्माण तथा प्रयोग, व्याख्यान विधिको अति कम प्रयोग गरी छलफल , प्रश्नोत्तर , समूह कार्य, परियोजना कार्यमा जोड दिनुपर्ने लगायतका विषयवस्तुमा स्रोत विज्ञ थापाले सहजीकरण गर्नु भयो ।
गोल्मेश्वरी आविका विव्यस अध्यक्ष नारायण बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सोही विद्यालयका प्रधानाध्यापक सुनील कुमार भण्डारी र क्यौलेठाना आविका भरत कुमार मल्लले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन श्री गोल्मेश्वरी आविका शिक्षक पाण्डब अधिकारीले गर्नुभएको थियो ।







