सिन्धुपाल्चोक -संविधान दिवस २०८२ को अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरूले नेपालको संविधानको संरक्षण सबैको साझा दायित्व भएकोमा जोड दिएका छन् । ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ शीर्षकमा चौतारामा सम्पन्न कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, कानूनविद्, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हालै देखिएका जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै अनावश्यक देवत्वकरण र दानवीकरण दुवै घातक हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान घाइते भएको छ, यसलाई जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो ।”


प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले संविधानको रक्षाका लागि सही विचार र दृष्टिकोणको आवश्यकता औंल्याउँदै भन्नुभयो “यदि नेतृत्वले ठोस मार्गनिर्देशन गर्न सकेन भने भीडको शासन हुन सक्छ, जुन देशका लागि खतरनाक हुनसक्छ ।” उहँले जेनजी आन्दोलनलाई प्रबुद्ध नेतृत्वले बुझ्नुपर्ने, अहिलेको दर्शनहरुलाई प्रविधिमैत्री बनाउँदै डिजिटलाईजेसन आवश्यक रहेको तर्क गर्दै खरानीको लागि घर जलाउन नहुने बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इञ्चार्ज सरेश नेपालले मुलुकलाई प्रतिगमनबाट जोगाउँदै परिवर्तनको गति सुनिश्चित गर्न दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । “देशलाई एक दशक पछाडि फर्काउने काम भयो,” उहाँले भन्नुभयो, “अब संविधानको संरक्षण गर्दै संसदीय प्रणालीको सुधार अपरिहार्य भइसकेको छ ।”
कार्यक्रममा एमाले सिन्धुपाल्चोक अध्यक्ष होमनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली र नेपाली कांग्रेसका जिल्ला सचिव विलबहादुर तामाङले संविधानको संरक्षणमा कुनै सम्झौता हुन नहुनेमा एकमत देखाएका छन् । उहाँहरूले आवश्यक परे संविधान संशोधन गर्न सकिने भए तापनि त्यसका लागि राजनीतिक सहमति र साझा प्रतिबद्धता आवश्यक भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता शशीनाथ आचार्यले नेपालको संविधानको विशेषता र यसले सामना गरिरहेका चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । संघीय, धर्मनिरपेक्ष, गणतान्त्रिक, समावेशी र समानुपातिक प्रतिनिधित्वको मौलिक विशेषता बोकेको संविधानले देशलाई स्थायित्व, सुशासन र समावेशिताको दिशामा लैजानुपर्ने उहाँको धारणा थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल वार एसोसिएसन सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङले वर्तमान सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटनको घटनालाई संविधानको मर्म विपरित रहेको बताउनुभयो । “संविधानलाई जनउत्तरदायी बनाउँदै सुधार गर्न संसद्को भूमिका अपरिहार्य छ,” उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी सञ्चारकर्मी यज्ञ दंगालले पुस्तान्तरण अपरिहार्य भए पनि नयाँ पुस्ताले अध्ययन, प्रतिबद्धता र परिपक्वता प्रदर्शन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा संविधानको संरक्षण, परिमार्जन र समावेशी विकासको बाटोमा सँगै हिँड्न सबै राजनीतिक शक्ति, नागरिक समाज र बौद्धिक समुदायको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।







