सिन्धुपाल्चोक -नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पार्टी पुनर्गठनका लागि तत्काल पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले हाल मुलुक गम्भीर राजनीतिक संकटमा फसेको उल्लेख गर्दै राज्यलाई अनिर्णयको बन्दी बनाएर बसिरहन नसकिने स्पष्ट पार्नुभयो । “समय बलवान छ, जसले समयको माग बुझ्छ र चल्छ, त्यो नै सफल हुन्छ,” उहाँले भन्नुभयो, “यस्तो विषम परिस्थितिमा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं र हुन्न पनि ।” लामाले एमालेभित्र युवाको मागलाई सम्बोधन गर्दै पार्टी केन्द्रदेखि वडासम्म बैठक राखी नयाँ नेतृत्व दिने आवश्यकतामा जोड दिनुभयो । उहाँले समतामूलक र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्य घोषणापत्रमा मात्र सीमित भएको भन्दै त्यसलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । सामाजिक संजाल फेसबुकमा लेख्दै लामाले “नेतृत्व सधैँ एकै जनामा जनवादी केन्द्रीयताको नाममा कैद गरिएको उल्लेख गर्नुभएको छ ।, जसका कारण युवामा असन्तोष बढ्दै गएको भन्दै यो सत्यलाई स्वीकार्दै घोषणापत्रलाई व्यवहारमा उतार्ने गरी योजनाबद्ध रूपमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने उहाँको भनाइ थियो ।
लामाले प्रतिकूलता, चुनौती र अप्ठ्यारोलाई सामना गरेर नयाँ गतिमा पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै गणतन्त्रको रक्षा र पार्टीको मजबुतीका लागि आवश्यक परे जीवन अर्पण गर्न समेत आफूहरू तयार रहेको बताउनुभयो । “हामीले लडेर ल्याएको गणतन्त्र एमाले जस्तो शक्तिशाली संरचना भएको पार्टीले टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै त्यसका लागि कमजोरी स्वीकारेर कार्यशैली बदल्न पर्नेमा जोड दिनुभयो । अन्यथा समाजमा अराजकता निम्तिने खतरा हुने लामाको भनाइ थियो । उहाँले पार्टी नेतृत्व पुनःसंरचना गरेर मात्र एमालेलाई सशक्त बनाउन सकिने विश्वास व्यक्त गर्दै विचलित नभई संयमित भएर एकताबद्ध हुने अपिल समेत गर्नुभयो । साथै एमालेलाई गुट उपगुट बनाउने,हरेक निर्वाचनमा गुटबन्दी गरेर जित्ने उम्मेदवार लाई हराउने,फरक बिचार राखेकै भरमा निर्वाचनमा भित्तामा पुर्याउने खालका प्रवृत्ति अन्त्य हुनुपर्ने लामाले उल्लेख गर्नुभयो । उहाँले आशीर्वादको भरमा हिड्ने तर भूगोलमा काम नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । लामाले एमालेलाई आगामी निर्वाचनमा विजयी बनाउन जनताका सरोकारका एजेन्डा उठाउँदै व्यावहारिक काममा जोड दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले संगठनलाई बलियो बनाउन तल्लो तहसम्म जिम्मेवारीसहितको कार्यशैली विकास गर्नुपर्ने बताउनुभयो ।








