सिन्धुपाल्चोक -चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सामा अवस्थित विदान विधि कृषि पशुपन्छी फार्ममा आज बिहान करेन्ट सर्ट भएर आगलागी भएको छ।
बिहान करिब ८ः२० बजे उक्त फार्ममा अचानक आगलागी भएको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।


बिमला श्रेष्ठको नाममा दर्ता भएको उक्त फार्ममा ८५ वटा बाख्रा थिए । त्यसमध्ये ५० वटा बाख्रा जलेर मरेका छन् भने ६ वटा घाइते भएका छन्। २९ वटा भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा स्थानिय ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेका कारण अहिले चौतारा अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा बिहान करिब ९ः०० बजेतिर आगलागी पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।आर्थिक क्षतिको विवरण भने हालसम्म पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन।







