सिन्धुपाल्चोकको- मेलम्ची नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २४० जना कृषकलाई प्रोत्साहनस्वरूप रकम वितरण गरेको छ।
गोरु पाल्ने परम्परा हराउँदै गएको पृष्ठभूमिमा, परम्परागत कृषि प्रणालीलाई जोगाउन नगरपालिकाले प्रति हलगोरु ५ हजार रुपैयाँका दरले अनुदान दिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।


कृषकले अनुदान पाउनका लागि अनिवार्य रूपमा बिमा गर्नुपर्ने व्यवस्था गरिएको छ। नगरपालिकाको कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यका अनुसार बिमा गरेकाहरूले अनुदान पाउनेछन्। बैंक खाता भएका कृषकलाई रकम सिधै खातामा पठाइएको छ भने खाता नभएकालाई भरपाई प्रक्रियामार्फत रकम उपलब्ध गराइएको छ।
नगरपालिकाले २४० कृषकलाई अनुदान दिने लक्ष्यसहित बजेट विनियोजन गरेको र यसले प्रांगारिक मल उत्पादन, माटोको गुणस्तर सुधार र जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने उपप्रमुख उमा प्रधानले बताइन् ।







