सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले कक्षा ८ (BLE) तथा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम नगर सभाहलमा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख श्री आइतमान तामाङज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख श्री उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र, वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेका नगरप्रमुख तामाङज्यूले उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित सम्मान गर्नुका साथै, अबदेखि मेलम्ची नगरपालिकामा आधारभूत तहसम्मको (कक्षा ८ सम्म) शिक्षा निःशुल्क र अनिवार्य गरिएको औपचारिक घोषणा गर्नु भयो। उहाँले “शिक्षा कुनै विशेष वर्गको लागि मात्र होइन, समाजका हरेक बालबालिकाको मौलिक अधिकार हो।आधारभूत तहसम्मको गुणस्तरीय, निःशुल्क र समावेशी शिक्षा सुनिश्चित गर्नु हाम्रो मुख्य दायित्व हो। त्यसैले अब मेलम्ची नगरपालिकामा कक्षा ८ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क र अनिवार्य गरेको बताउनु भयो। वहाँले यस निर्णय मार्फत हामी कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोस् भन्ने सुनिश्चित गर्न चाहेको बताउनु भयो। साथै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्नु केवल पुरस्कार होइन, यो त उनीहरूको मेहनत प्रतिको कदर र आगामी पुस्तालाई प्रेरणा दिन गरिएको सम्मान हो। नगरपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा थप लगानी गर्दै गुणस्तर उन्नयनका कार्यक्रमलाई निरन्तरता दिने धार्न राख्नु भयो।

कार्यक्रममा आधारभूत तह (BLE) परिक्षामा ४ र माध्यमिक तह (SEE) परिक्षामा ३९ जना गरी जम्मा ४३ जना ३.६१ GPA वा सो भन्दा माथी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो। साथै, यस वर्ष SEE मा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल दुई विद्यालय (एक सामुदायिक र एक निजी विद्यालय)लाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। नगरपालिकाले यस्तो कार्यक्रमले विद्यार्थीलाई अझ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा यस्ता सम्मानलाई थप विस्तार गरिने शिक्षा अधिकृत सुदिराज बुढाथोकीले बताउनु भयो।







