काभ्रे – असल शासनका लागि ग्रामीण पत्रकारिताको ध्येयसहित काभ्रेलाई जन्म र कर्मथलो बनाएर प्रकाशन आरम्भ गरेको मोफसलको ‘क’ वर्गको पत्रिका नव क्षितिज साप्ताहिक प्रकाशनको २४ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको अवसरमा मनाइने रजत जयन्तीको लोगो शुक्रबार सार्वजनिक गरिएको छ।
उक्त लोगो सार्वजनिक कार्यक्रमलाई सम्माननीय सभामुख देवराज घिमिरेले औपचारिक रूपमा सार्वजनिक गरेका छन्। यस महत्वपूर्ण क्षणमा लोगो सार्वजनिक गरिदिनु भएकोमा उहाँप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछौं।


कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, युवा व्यवसायी राजेन्द्र थापा, पत्रिकाका सह–सम्पादक अरविन्द्र गौतम लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नव क्षितिज साप्ताहिकले विगत २४ वर्षदेखि ग्रामीण पत्रकारितालाई प्रवर्द्धन गर्दै लोकतन्त्र, सुशासन र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर समाचार प्रकाशन गर्दै आएको छ। रजत जयन्तीको अवसरमा पत्रिकाले आगामी दिनहरूमा अझ सशक्त पत्रकारिता गर्ने प्रतिबद्धता जनाएको छ।







