सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले क्षेत्रका विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम लागू गर्ने घोषणा गरेको छ।
श्री सरस्वती माध्यमिक विद्यालय, बलेफी-७ सभाचौरको ५३औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्दै गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले यस वर्षदेखि कार्यक्रम सुरु गरिने जानकारी दिनुभयो।


उहाँका अनुसार शिक्षकलाई प्रविधिसँग जोडेर अध्यापनलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। “हाम्रो उद्देश्य शिक्षालाई आधुनिक प्रविधिसँग जोड्दै विद्यार्थीलाई गुणस्तरीय सिकाइ दिनु हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि सिन्धुपाल्चोक क्षेत्र नं. २ का सांसद तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेत, पूर्व गाउँपालिका अध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष सरु लामा तामाङ, विभिन्न शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति थियो।
अध्यक्ष तामाङले बलेफीका विद्यालयहरूको भौतिक तथा शैक्षिक विकासमा गाउँपालिकाले निरन्तर सहयोग गर्दै आइरहेको बताउँदै, आगामी दिनमा थप प्रविधिमैत्री योजनाहरू ल्याइने उल्लेख गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूले ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमले शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
गाउँपालिकाले अबका दिनमा प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै थप आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।







