
सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको आयोजनामा सम्पन्न अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिता को उपाधि आयोजक जुगल गाउँपालिकाले नै आफ्नो पोल्टामा पार्न सफल भएको छ।
फाइनल खेलमा जुगल गाउँपालिकाले मेलम्ची नगरपालिकालाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै जुगलले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मेलम्ची नगरपालिकाले ३० हजार नगद हात पार्यो।


जिल्लाभरका ९ स्थानीय तहका १० टोली सहभागी उक्त प्रतियोगितामा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले तेस्रो स्थान हासिल गर्यो। उसले २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो।
प्रतियोगिताका बिजेता तथा उपविजेता टोलीलाई जुगल गाउँपालिका अध्यक्ष रेसम स्याङ्बाले पुरस्कार वितरण गर्नुभएको थियो। प्रतियोगिताले शिक्षकहरूबीच आपसी समझदारी बढाउँदै खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास गरिएको ।






