सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नं. ४ अन्तर्गत थारथान खोला करङगैरा, डाँडागाउँ कोले, लिफ्टिङ खानेपानी आयोजनाको काटिएको लाइन आज देखि पुनःजडान भएको छ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल नबुझाएका कारण काटिएको लाइन आजबाट पुनः जडान गरिएको हो।
नेपाल विद्युत प्राधिकरणले चार लाख रुपैयाँ बक्यौता रहेको भन्दै केही दिनअघि विद्युत आपूर्ति बन्द गरेको थियो। जसका कारण करङगैरा, डाँडाकटेरी, डाँडागाउँ, कोले लगायतका छ वटा गाउँका १६० घरधुरी खानेपानी अभावमा परेका थिए।


यस समस्याको समाधानका लागि पूर्व वडा अध्यक्ष तथा माओवादी केन्द्रका बलेफी गाउँपालिका अध्यक्ष कालीप्रसाद लामा, बलेफी गाउँपालिका अध्यक्ष गङ्गा बहादुर तामाङ ‘प्रवेश’ लगायतको पहलमा बलेफी आजदेखि लाइन पुनः सञ्चालनमा ल्याइएको कालीप्रसाद लामाले जानकारी दिनुभयो।
उनका अनुसार गाउँपालिका र वडा कार्यालयको समन्वयमा आवश्यक रकम भुक्तानी गरी विद्युत आपूर्ति पुनः सुचारु गरिएको हो। साथै, यस समस्याको दीर्घकालीन समाधानका लागि थप पहल भइरहेको र स्थानीय बासिन्दाहरूलाई स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।







