सिन्धुपाल्चोक – बलेफी गाउँपालिका–४, बिन्जेलस्थित जालपादेवी माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको ऐतिहासिक उपलब्धिहरूको स्मरण गर्दै विशेष समारोहको आयोजना गरिएको थियो, जसमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयको स्वर्ण स्मारिका विमोचन समेत गरिएको छ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहालले शिक्षा विधेयक दुबै सदनबाट छिट्टै पारित हुने विश्वास व्यक्त गर्दै शिक्षा क्षेत्रको सुधारको बाटो खुल्ने उल्लेख गर्नुभयो। साथै, उहाँले शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो।


त्यस्तै, संविधानसभा सदस्य माधव सापकोटाले विद्यालय शिक्षालाई प्रविधिमैत्री र व्यवहारिक बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँका अनुसार विद्यार्थीलाई पुस्तक केन्द्रित मात्र नभई व्यावहारिक ज्ञान प्रदान गर्न आवश्यक छ, जसले रोजगारमूलक शिक्षा प्रवर्द्धन गर्नेछ।
कार्यक्रममा संविधानसभा सदस्य केशव नेपाल, बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ लगायतका विशिष्ट व्यक्तित्वहरूले मन्तव्य व्यक्त गर्नुभयो। वक्ताहरूले विद्यालयको ५० वर्षको सफल यात्राप्रति प्रसंसा व्यक्त गर्दै, शैक्षिक क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका अवसरमा विद्यालयको विकासमा महत्वपूर्ण भूमिका खेलेका उपप्रधान संरक्षक, सहप्रधान संरक्षक, संरक्षक तथा आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यस्तै, विद्यालयका संस्थापकहरू, पूर्वअध्यक्षहरू, पूर्व भवन निर्माण समितिका अध्यक्षहरू, साथै उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो।
समारोहमा स्थानीयबासी, अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी तथा विभिन्न पेशागत व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयका पूर्वविद्यार्थी तथा स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो।
विद्यालय प्रशासनले भविष्यमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने लक्ष्य राखेको जानकारी गराएको छ।







