सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थलीमा सम्पन्न ‘जिल्लास्तरीय आठौं तेक्वान्दो प्रतियोगिता ०८१’ को उपाधि सेतीदेवी तेक्वान्दो डोजाङ, सुनकोशी गाउँपालिकाले जितेको छ। सेतीदेवीले ९ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै पहिलो स्थान हासिल गर्यो।
प्रतियोगितामा १० वटा डोजाङका १३४ खेलाडी सहभागी थिए। आयोजक कर्थली तेक्वान्दो डोजाङ दोस्रो (६ स्वर्ण, ४ रजत, २ कास्य) र हीराहरी डोजाङ तेस्रो (३ स्वर्ण, २ रजत, २ कास्य) भए। उत्कृष्ट खेलाडीका रूपमा सौगात तामाङ (पुरुष) र सलिना चुहान (महिला) चयन भए।


कार्यक्रमको उद्घाटन मेयर बालकृष्ण बस्नेतले गरे भने विजेतालाई पुरस्कृत पूर्वमन्त्री एवं सांसद मोहनबहादुर बस्नेतले गरे। आयोजकले तेक्वान्दो खेलमार्फत जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य व्यक्त गर्यो।







