
पोखरा भ्रमण वर्ष घोषणा गर्दा भएको दुर्घटनामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य सामान्य घाइते भएका छन् । बेलुन उडाएर कार्यक्रम उद्घाटन गर्न खोज्दा बेलुनमा आगो लागेको थियो ।
पोखरा प्रदर्शनी केन्द्रमा पौडेलले समारोह उद्घाटन स्वरुप बेलुनको झुत्तो उडाउन लागेका थिए । झुत्तो पोखराका मेयर धनराज आचार्यले मन्त्री पौडेललाई हस्तान्तरण गर्दा गर्दै नजिकै झिलझिल बालिएको आगोले टिपेको थियो । त्यही आगोले बेलुनको झुत्तो पड्किएको हो ।
बेलुनको झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयर स्वयंलाई पनि सामान्य चोट लागेको हो। गालामा आगोले चोट पुगेपछि मन्त्री पौडेललाई उद्घाटन समारोहबाट मेयर आचार्यले नै अस्पतालमा पुर्याएका छन् ।
आगोले बेलुन टिपेपछि अर्थमन्त्री पौडेलले तत्काल मञ्चतर्फ दौडिएर कोट र टोपी फुकालेका थिए। उनका सुरक्षाकर्मीले तत्कालै शरीरमा कतै आगोका झिल्का छन् कि भनेर टकटक्याएका थिए ।
अर्थमन्त्रीको अनुहारमा सामान्य घाउ र मेयर आचार्यको गालामा चोट लागेको छ । प्रमुख अतिथि अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए पनि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उपप्रधान एवं अर्थमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ ।