
बलेफी गाउँपालिका–५, बिन्जेल देउराली स्थित श्री बिञ्ज्याल आधारभूत विद्यालयको २२औं वार्षिकोत्सव तथा अभिभावक भेला विविध साँस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।
बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’को प्रमुख आतिथ्यता, उपाध्यक्ष सरु लामा तामाङ, वडा नं. ५ का अध्यक्ष यादव ठकुरीको विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, महिला समूह, अभिभावक, शिक्षक, विद्यार्थी, युवा तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले विद्यालयको पठनपाठन र अनुशासनलाई गाउँपालिकाले उच्च मूल्यांकन गरेको बताउँदै शिक्षा बिनाको विकासले उन्नती नहुने बताउनु भयो । उहाँले शिक्षा नै पहिलो जनशक्ति उत्पादन गर्ने थलो भएकाले शिक्षामा लगानी गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै उपाध्यक्ष सरु लामा तामाङले शिक्षक हरेक दिन विद्यार्थी बने मात्र गुणस्तीय शिक्षा प्रदान गर्न सकिने बताउँदै शिक्षामा लगानी गर्नु अतिआवश्यक रहेको बताउनु भयो।
वडा नं. ५ वडा अध्यक्ष यादव ठकुरीले विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गरे । उनले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताउँदै ठकुरीले वडा नम्बर ५ को नमुना विद्यालयका रूपमा बिञ्ज्याल आधारभूत विद्यालयको विकास भएको हेर्न चाहेको बताउनु भयो।
विद्यालयका प्रधानाध्यापक रेशम बहादुर तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए । उनले विद्यालयले विभिन्न असल अभ्यास गर्दै आएको विवरण समेत प्रस्तुत गरे ।
वार्षिकोत्सवको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै अभिभावकहरूबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो।