
सिन्धुपाल्चोक – जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रमुख एसपी रामेश्वर कार्कीले जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्। पदबहाल गरेसँगै आयोजित पत्रकार भेटघाटमा उनले अपराधमुक्त समाज निर्माण गर्न विशेष अभियान सञ्चालन गर्ने बताए।
कानुन कार्यान्वयन, विधिको शासन र प्रहरी संगठनको निर्देशनअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउँदै एसपी कार्की प्रचारभन्दा परिणाममुखी कार्यशैलीमा विश्वास राख्ने अधिकारी भएको उल्लेख गरे।
उनले सिन्धुपाल्चोकलाई स्वच्छ, पारदर्शी र भयरहित जिल्ला बनाउने लक्ष्यसहित लागूऔषध दुर्व्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करीजस्ता आपराधिक गतिविधिहरू नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्ने बताए।
साथै, बजार क्षेत्र र व्यावसायिक प्रतिष्ठानहरूमा नियमित सिसिटिभी निगरानी, मादक पदार्थ सेवन गरी सवारी चलाउने (ड्रिंक्स एन्ड ड्राइभ) नियन्त्रण गर्न मापसे चेकिङ जस्ता कार्यलाई प्राथमिकता दिइने जानकारी गराए। शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने उनको अडान अनुसार प्रहरी प्रशासन थप सक्रिय हुने संकेत गरेको छ।