
चौतारा । श्री सेतीदेबी पञ्चकन्या माध्यमिक विद्यालयको पूर्व बिद्यार्थी समाजले विद्यालयको अक्षयकोषको लागी ८ लाख सहयोग घोषणा गरेको छ ।
पूर्व विद्यार्थी समाजका अध्यक्ष तथा सांसद माधव सापकोटा ‘सुबोध’ले विद्यालयको ४८औँ वार्षिकोत्सव, अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोहका अवसरमा सो सहयोग घोषणा गरेका हुन्। कार्यक्रममा पूर्व विद्यार्थी समाजका उपाध्यक्ष तथा बलेफी गाउँपालिकाका अध्यक्षले थप ४ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।


हाल करिब २५० विद्यार्थी अध्ययनरत यस विद्यालयमा शिक्षासँगै ‘पढ्दै कमाउँदै’ कार्यक्रम समेत सञ्चालन भइरहेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुडामणि नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
समारोहको अवसरमा विद्यालयको शैक्षिक गुणस्तर सुधार विषयमा विद्यार्थी, शिक्षक, पूर्व विद्यार्थी तथा अभिभावकबीच सामूहिक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो। यस अन्तरक्रियामा विद्यालयको वर्तमान शैक्षिक अवस्थाको समिक्षा गर्दै भविष्यमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने उपायहरूबारे छलफल गरियो।






