पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयमा आफ्नो नेतृत्वको पार्टीप्रति जनताको आकर्षण बढेको बताएका छन्। बागलुङमा हिजो आयोजित स्नेह मिलन कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारको नेतृत्व सम्हालेका १८ महिनामा गरेका कार्यले जनतामा विश्वास बढाएको उल्लेख गरे।
अध्यक्ष दाहालले विगतका कमीकमजोरीको समीक्षा गर्दै माओवादी केन्द्रलाई बलियो बनाउन वडा तहबाटै संगठन विस्तार भइरहेको बताए। सातै प्रदेशबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा आबद्ध भइरहेको उल्लेख गर्दै उनले पार्टीलाई पहिलो स्थानमा ल्याउन धेरै समय नलाग्ने दाबी गरे। पार्टीका लागि हाल ठूलो अवसर आएको भन्दै दाहालले सरकारलाई सही मार्गमा ल्याउन विपक्षी दलहरू एकजुट हुनुपर्नेमा जोड दिए। जनस्तरबाटै माओवादी सरकारले गरेका कामको प्रशंसा हुन थालेको उल्लेख गर्दै उनले कार्यकर्ताहरूलाई ती उपलब्धिको व्यापक प्रचार गर्न आग्रह गरे।









