
सिन्धुपाल्चोक – जुगल गाउँपालिकामा नेकपा (एमाले), नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी २५० भन्दा बढी नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
सोमबार ढाँडे बजारमा आयोजित नेकपा (माओवादी केन्द्र) जुगल गाउँपालिकाको तेस्रो सम्मेलनको उद्घाटन सत्रमा उनीहरूलाई माओवादी केन्द्रका केन्द्रीय नेताहरूले अबिरमाला लगाएर स्वागत गरेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला इन्चार्ज केशब नेपाल, प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सभा सदस्य तथा बागमती पार्टी अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेश सभा सदस्य अमृता नेपाललगायतका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे।
नवप्रवेशी नेता-कार्यकर्ताहरूले माओवादी केन्द्रले संघ, प्रदेश र स्थानीय तहमा गरेका जनपक्षीय कार्य तथा नीति आफूहरूका लागि प्रेरणादायी बनेको बताए। साथै, माओवादी केन्द्रले विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा देखाएको प्रतिबद्धताले आफूहरूलाई पार्टी प्रवेश गर्न आकर्षित गरेको उनीहरूको भनाइ छ।
उल्लेखनीय छ कि जुगल गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्र विजयी भएको छ भने सो क्षेत्र माओवादीको प्रभावशाली आधार क्षेत्रका रूपमा चिनिन्छ। जनजाति बाहुल्यता रहेको यस क्षेत्रमा माओवादी केन्द्रले विभिन्न जनपक्षीय काम गर्दै आएको स्थानीयहरू बताउँछन्।