
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ मा प्रेमिका भेट्न गएका एक युवकको रहस्यमय मृत्यु भएको छ । भोटेकोशी-१ कोदारीका २२ वर्षीय दिनेश विकको सामूहिक कुटपिटका कारण हत्या भएको आशंका गरिएको छ ।
तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
गम्भीर घाइते अवस्थामा भेटिएका दिनेशलाई बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले बताएका छन् । हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको छ ।
भोटेकोशी १ कोदारीका दिनेश वडा नम्बर २ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ भने स्थानीयसँग सोधपुछ जारी राखिएको छ । मृतकका परिवार तथा स्थानीयले निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।