
चौतारा – चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सिनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार आयोजित यस कार्यक्रममा खेलाडी, अभिभावक तथा तेक्वान्दो प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा रातो पेटीबाट रातो कालो पेटीमा विजय श्रेष्ठ र निभा श्रेष्ठ उतिर्ण हुन सफल भएका छन्। त्यस्तै, सुसन खत्री र सुनिधी कक्षपति रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण भएका छन्।
कार्यक्रमका क्रममा दोस्रो डान कालो पेटीको कोरियन प्रमाणपत्र वितरण गरिएको छ। यो प्रमाणपत्रले तेक्वान्दो खेलाडीहरूको क्षमतामा अन्तर्राष्ट्रिय मान्यता थप्ने अपेक्षा गरिएको छ।
उतिर्ण खेलाडीहरूलाई हिराहरि तेक्वान्दो डोजाङका संस्थापक तथा प्रमुख रमेश गुरुङले बधाई दिएका छन्। गुरुङले नै ग्रेडिङ प्रमुखको भूमिका निर्वाह गरेका थिए।
यस कार्यक्रमले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने मात्र होइन, नयाँ पुस्तालाई पनि तेक्वान्दोप्रति आकर्षित गराउने अपेक्षा गरिएको छ। डोजाङ प्रमुख गुरुङले खेलाडीहरूको प्रगतिको प्रशंसा गर्दै निरन्तर अभ्यास र समर्पणले मात्र सफलता सम्भव हुने बताएका छन्।