
काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासँस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बुधबार नेवा: देय्: दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेवा समुदायभित्र विसिधता भएपनि विविधिताभित्र एकता भएको उहाँको भनाई थियो । ‘भाषा, सँस्कृति,पहिचान जोगाउन नेवा देय् दबूयाले काम गरिररहेको छ । यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘आफ्नो भेषभूषा,कलासँस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’
फरक सन्दर्भमा उहाँले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताउनुभयो । संविधान जारी हुँदाको अवस्था सम्झँदै उपप्रधानमन्त्री सिंहले दुई पटक संविधानसभा विघटन भएपछि पेचिलो अवस्थामा संविधान जारी भएको स्मरण गर्नुभयो । ‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ ।
संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ,’ उहाँले भन्नुभयो, ‘संविधानले दिएका अधिकारको उपयोग गर्दै, सुरक्षित गर्दै जानुपर्छ । संविधानलाई थप प्रभावकारी बनाउन र जनतालाई अझ धेरै अधिकार दिनका लागि संशोधन हो ।’
कार्यक्रममा वक्ताहरुले संविधानले आदिवासी जनजातीलाई अझै सम्बोधन गर्न बाँकी रहेको बताएका थिए । ‘सरकारलाई सुनाउनुपर्ने कुरा सुनाउनुभएकाे छ । डेमोक्रेटिक सिस्टममा सबैले आफूलाई लागेको कुरा भन्न पाउँछन् । यो नै यसको सुन्दरता हो । मैले गर्न सक्ने काम गर्छु,’ उहाँले भन्नुभयो ।