बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा हिजो बुधबार भर्ना भएका उनको आज बिहान करिब १० बजे निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।
१३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।


मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिक रूपमा कमजोर थिए। पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिएका थिए।
भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् ।
हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।







