
काठमाडौं : बालकुमारीस्थित एक घरमा मध्यरातमा विद्युत् ‘सट’ भई आगलागी हुँदा चार पसल जलेर नष्ट भएको छ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् सट भएर आगलागी भएको हो। आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको फार्मेसी जलेर नष्ट भएको छ।
यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि नष्ट भएको छ।
आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ। पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो।