
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्।
सहकारी छानबिन संसदीय समितिले कांग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरुमाथि पनि तत्काल छानबिन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो।
सोमवार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको दसैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने बताए।
उनले भने,‘सहकारीका अपचलन गर्ने सयौंको संख्यामा छन्। ती मान्छेमध्ये ५÷६ सय मान्छे अभियोजनको क्रममा छन्। अरु ५÷७ सय मान्छे फरार छन्। ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याउ। त्यो नयाँ होस् कि पुरानो होस कि। त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि। रुखको छायामुनि बसिराखेको होस् कि। सबैलाई अनुसन्धानमा ल्याउ। छानबिन समितिमा बकाईदा त्यही भन्छ। त्यसैले हामी भनिरहेका छौं सरकारलाई–यी सबै विषयहरुका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस्। आम नागरिकहरुको विश्वसनीयताको कुरा पनि हो।’
उनले भने, ‘अहिले बाहिर छलफल चर्चा चलेको छ– नेपाली कांग्रेसका एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो। थप अनुसन्धान गर्नुपर्छ। म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकाइदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नु पनि पर्छ। नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो। गर्नुस् अनुसन्धान। अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस्। दण्ड पनि दिनुस्।’बताए।