
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ कि ४५ वषीया सर्मिला तामाङ ६ वर्षदेखि मिर्गौलाको उपचारको लागि काठमाडौं धाइरहेकी छिन् । जिल्लामा डाइलाइसिस सेवा नहुँदा महंगो खर्च गरेर उनी राजधानीमा उपचार गराइरहेकी हुन्।
आइतबारदेखि सिन्धुपाल्चोकको चौतारा अस्पतालमा डाइलाइसिस सेवा सुरू भएसँगै उपचारमा सहजता हुने उनी बताउँछिन् । अस्पतालले डाइलाइसिस सेवा सुरु गरेपछि पहिलो सेवाकर्ता बनेकी उनले काठमाडौंमा उपचार गराउँदा निक्कै झन्झट व्यहोर्नु परेको बताइन् ।
चौतारा अस्पतालले डाइलाइसिस सेवा सुरु गरेपछि उपचारको लागि झन्झट बेहोर्न नपर्नेमा उनी आशावादी छिन् । ‘सेवा सुरु त भयो, तर बिरामी भएनन् भने बन्द हुने हो कि भन्ने लाग्छ ।’
अस्पतालमा हाल ५ वटा डायलसिस गर्ने उपकरण छन् । १ पटकमा ५ जना बिरामीलाई सो सेवा दिनको लागि १ जना डाक्टर र ३ जना तालिम प्राप्त नर्सले सेवा दिनेछन् ।
एकजना मिर्गौला पीडितले हप्तामा कम्तिमा २ पटक डायलासिस गर्नैपर्छ । यसको लागि मंहगो अस्पताल जानुपर्ने बाध्यता भने हटेको छ।
यो सेवा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्रमणी भण्डारीले बताए । अस्पतालमा हाललाई सो सेवा निःशुल्क प्रदान गरिएको उनले जनाए ।