
सिन्धुपाल्चोक । चाडपर्व नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सुरक्षा योजना बनाएको छ । दसैं तथा तिहारलगायतका पर्वमा हुनसक्ने सम्भावित घटना न्यूनीकरणका लागि कार्यालयले बनाएको योजना जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्नुभयो ।
प्रहरी प्रमुख खड्काका अनुसार चाडपर्वमा लुटपाटका घटना हुन नदिन सादा पोशाकका प्रहरी परिचालन हुनेछन् । लुटपाट हुनसक्ने स्थानमा महिला प्रहरीलाई सादा पोशाकमा खटाउने योजना सिन्धुपाल्चोक प्रहरीले बनाएको छ । कार्यालयले यो वर्ष महिला प्रहरीलाई गरगहना लगाएर चोक तथा लुटपाट हुनसक्ने एकान्त स्थानमा खटाउने छ ।
बजार एसिया तथा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने सबै नाकाहरुमा २४ सै घण्टा जाँच गर्ने योजना पनि प्रहरीले बनाएको छ । त्यस्तै ठाउँठाउँमा मादक पदार्थ सेवन र लागु पदार्थ सवन जाँच, जिल्लाका पाँच स्थानमा रिफ्रेस सेन्टर बनाइएको एसपी खड्काले बताउनुभयो । सवारी साधनको प्रतिष्पर्धा अन्त्य गर्ने उद्धेश्यले मेलम्ची, बाह्रविसे, ठूलोपाखर, बनदेउ र चौतारामा रिफ्रेस सेन्टर बनाइएको हो ।
त्यस्तै आर्थिक चहलपहल बढी हुने वैंक तथा वित्तिय संस्थाहरु रहेको स्थानमा पनि प्रहरीको विशेष निगरानी हुनेछ । सुनचाँदीका गरगहना लगायत अन्य बहुमुल्य सामानहरुको कारोबार हुने स्थानहरुमा निगरानी बढाइने प्रहरीको भनाइ छ ।