सिन्धुपाल्चोक । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो गईरहेको बेला सोमबार रातीको पानीले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा धेरै क्षती पुगेको छ ।
बलेफी गाउँपालिका वडा नं ४ को कोलेमा अविरल बर्षासगै आएको पहिरोले घर पुरिँदा सुतीरहेका ४६ बर्षका आकाश तामाङ(पिङ्गे)लाई हिलो लेदोले पुरेको थियो । बाढीले आधा पुरेको अवस्थामा व्युँझिएकी उनकी श्रीमती चिनिमायाँले श्रीमानलाई मुस्किलले बचाएकी हुन् ।घाइते तामाङको खाडीचौरस्थित सिन्धु सन्जीवनि पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
उपचार गराईरहेका तामाङको स्वास्थ्य अवस्था बुझ्न गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ वडा अध्यक्ष सुर्जे तामाङ पोलिक्लिनिक पुगेर उपचार खर्च गाउँपालिकाले बेहोर्ने र अस्थायी बसोबासका लागि तत्काल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
निर्वाचन क्षेत्रमा बाढी पहिरोले क्षती पुर्याएपछि क्षेत्र न १ बाट निर्वाचित सांसद माधव सापकोटा सुबोध, स्थानीय नेता प्रताप तामाङ पनि घाईतेको स्वास्थ्य अवस्था बुझ्न र पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।साथै बलेफी गाउँपालिका वडा नं. ४ ले बाढी पहिरोको जोखिम अझै रहेकाले सजग र सर्तकता अपनाउन अनुरोध गरेको छ ।