प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहितको योजना ल्याउनेबारे सोचिरहेको बताए ।
देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरूले यसका लागि सोच्नुपर्ने बताए । उनले हाल जनसंख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे ।