
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्त्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ ।’
प्रचण्डले भने, ‘१८ महिना सरकारको नेतृत्व गर्यौँ । हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ । हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ । भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ । यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।’