
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् ।
कालोधनलाई सेतो बनाउन सरकारका मन्त्रीहरू नै कानुनले प्रतिबन्ध लगाएको हुण्डी कारोबारमा संलग्न रहेको उनको दाबी छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको र त्यसले मुलुकलाई आर्थिक रूपमा झनै बर्बाद बनाउने बताए । उनले हुण्डी कारोबारकै कारण राजस्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।
‘सरकार उच्च ओहोदाका मान्छेहरू हुण्डी कारोबारमा संलग्न छन् । मन्त्रीहरू र ठूल्ठूला व्यापारिक घरानाहरू पनि हुण्डी कारोबारमा संलग्न छन् । बैंकहरू आफैैँ अप्रत्यक्ष रूपमा त्यसमा संलग्न छन् । र, नेपाल यसरी बर्बाद हुँदैछ । राजस्व दिनदहाडै छली हुन्छ । भन्सार छली हुण्डीकै कारण भएको छ । सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ,’ उनले भने ।
अध्यक्ष साहले बैंकहरूसमेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए ।