
बनेपा । काभ्रे उद्योग बाणिज्य संघलाई चुनाव लागेको छ। अध्यक्षमा युवा शैक्षिक उद्यमी प्रताप वैद्यको उम्मेदवारी पर्ने भएको छ । सोही पदका लागि राजन मानन्धर, बसन्त नारायण भोछिभोया, रविन्द्र वैदार, ग्रुबेन तौजलेको नाम चर्चामा रहेको छ।
गत चैत्र २२ गते बसेको कार्य समिति बैठकले आगामी जेठ १९ गते ४२ औ साधारण सभासहित अधिबेशन गर्ने निर्णय गरेको थियो। त्यससँगै जिल्लाका ब्यवसायी यतातिर व्यस्त भएका छन् । आगामी नेतृत्व कसले पाउने भन्नेमा उनीहरुबीच छलफल चलेको छ।
महासंघको नेतृत्वका लागि वर्तमान कार्य समितिमा रहेका उद्योगी व्यवसायीहरुबीच सर्वसम्वत नेतृत्व चयनको प्रयास शुरु गरिएको छ । अघिल्लो पटक निर्वाचनपछि निर्वाचित समितिलाई काम गर्ने वातावरण सहज नभएको अनुभुति गर्दै यो पटक ब्यवसायीहरुले सहमतिमा साझा नेतृत्व चयन गर्ने प्रयास गरेका हुन् ।
अघिल्लो निर्वाचनमा दुई हजारभन्दा धेरै सदस्य भए पनि करिव एक हजार मत खसेको थियो । दुई समुह बनेर निर्वाचनमा होमिएको अघिल्लो कार्य समितिले करिव तीन वर्ष बिताएको छ। हरेक दुई दुई वर्षमा हुने निर्वाचन अधिबेशन यो वर्ष तीन वर्ष पुग्न लाग्दा हुन लागेको हो।